अर्थ

विस्तार गरिँदै जुम्ला विमानस्थल

खलंगा । सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ । सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनले भने, ‘विमानस्थल चालू आवदेखि बहुवर्षीय आयोजनाका रुपमा विमानस्थल विस्तारको काम शुरु भएको छ ।’ कर्णालीका हिमाली जिल्लाको विमानस्थलमध्ये जुम्ला विमानस्थल सबैभन्दा सहज विमानस्थल मानिएको छ ।

बढी चाप भएको भन्दै विमानस्थल विस्तारका लागि सङ्घीय सरकारले यो वर्ष एक करोड बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारको शेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ ।

विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ । प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको कार्यालय प्रमुख सिंहले बताए ।

जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएकाले लामो समयदेखि विमानस्थल विस्तारको माग गरिएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताए । लामो प्रयासपछि विमानस्थल विस्तारको कामले गति लिएको नगर प्रमुख सेजुवालले बताए ।

जुम्लावासीको हवाई यात्रा सहज र गुणस्तरीय हुने विश्वास रहेको सेजुवालले बताए । जुम्ला विमानस्थलमा नियमितरुपमा १६ सिटे जहाज अवतरण हुने गरेका छन् । अहिले सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेकामा विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज पनि सञ्चालनमा आउने आशा गरिएको स्थानीयवासी हर्क शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *