पालिका खबर

कोरोना संक्रमितका लागि टोखा नगरपालिकाले गर्यो ४२ लाख खर्च

काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप ४२ लाख नौ हजार १०० खर्च गरेको छ । टोखाको २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना संक्रमितत परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो ।

कोरोना संक्रमण बढेसँगै टोखाको ६२औँ नगर कार्यपालिकाको बैठकले कोरोना पोजेटिभ भई घरमा बस्ने बिरामीका लागि १४ दिनसम्म सन्तुलित भोजनका लागि प्रतिदिन ३५० भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकाभित्र बसोबास गर्ने एक परिवारको एक जना मात्र कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बसेकालाई १४ दिनको एकमुष्ट चार हजार ९०० र एकै परिवारका एकभन्दा बढी व्यक्ति कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बस्नेलाई सात हजार उपलब्ध गराएको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले राससलाई जानकारी दिए ।

टोखाले हालसम्म कोरोना पोजेटिभ देखिएर होमआइसोलेसनमा बस्ने ६०९ व्यक्तिलाई चार हजार ९०० का दरले २९ लाख ८४ हजार १०० उपलब्ध गराएको छ । यस्तै एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बस्ने १७५ परिवारलाई सात हजारका दरले १२ लाख २५ हजार उपलब्ध गराएको छ ।

नगरपालिकाले हालसम्म पाँच हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५०२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको टोखा स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *