अर्थ

रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्न नर्सरी स्थापना

वागमती । वागमती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम शुरु गरेको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा सात लाखको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम शुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए । 

कोभिड–१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा  उत्पादन गर्ने उद्देश्यले विशुद्ध नयाँ प्रविधिबाट विविध प्रजातिका बिरुवा उत्पादन हुनेछन् ।

गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कूल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ । 

उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करुपमा  वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिए ।

आगामी विसं २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ । गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच/छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *