काठमाडौं । टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।
२०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको ग्राण्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको अस्पतालका प्रशासक हरि खड्काले जानकारी दिए ।
दुई सय शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ५४ शय्या छुट्याएर भेन्टिलेटर, आईसीयूसहित सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको छ ।