अर्थ

हेटौंडा-पोखरिया १३२ केभी प्रसारणलाइनले जग्गा अधिग्रहण गर्दै

काठमाडौं । हेटौंडा-परवानीपुर-पोखरिया १३२ केभी प्रसारणलाइन आयोजनाले पर्साको पोखरिया नगरपालिकामा जग्गा अधिग्रहण गर्ने भएको छ । 

६३ हजार ९ सय ४० वर्गमिटर जग्गा अधिग्रहण गर्ने भएको हो ।  आयोजनाले एक सुचना प्रकाशित गर्दै मन्त्रिपरिषदको २०७६ पुस १४ को निर्णय अनुसार जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।

पोखरिया नगरपालिका (साविक पोखरिया-०२) मा पर्ने घर टहरा तथा अन्य स्थायी संरचना र  रुख,विरुवा समेत स्थायीरूपले प्राप्त गर्नुपर्ने भएकाले  जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को प्रयोजनका लागि अधिग्रहण गर्न लागेको जनाइएको छ ।  

आयोजना क्षेत्रभित्र पर्ने कुल जग्गाध्ये १६ कित्ता व्यक्तिको, ७ कित्ता गुठीको र एक कित्ता सरकारी छ । 

सूचना  प्रकाशित भएको मितिले सोही ऐनको दफा १० अनुसार  ३५ दिनभित्र  सरोकारवाल व्यक्तिले मुआब्जा दाबी गर्न आ-आफ्नो हकदाबी वा भोगचलन सम्बन्धी निस्सा तथा प्रमाणसहित पर्सा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन भनिएको छ ।

तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने पनि शनिबार जारी सूचनामा उल्लेख छ । 

थप जानकारी लागि सम्बद्ध जग्गाधनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *