काठमाडौं । नेपालमा विदयुत आयात एक महिना नपुग्दै १५ गुणाले वृद्धि भएको छ । महिना मंसिर ५ गते जम्मा ६ लाख युनिट विद्युत भारतबाट आयात भएकोमा पुस २ गते ८६ लाख ५३ हजार युनिटभन्दा बढी विद्युत आयात भएको छ ।
यो परिमाण विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवर्द्धकले उत्पादन गर्ने विद्युतको भन्दा धेरै हो । अहिले विद्युत प्राधिकरणको ८० लाख युनिट विद्युत आपूर्ति हुँदा निजी क्षेत्रको ७८ लाख युनिट विद्युत राष्ट्रिय प्रणालीमा आपूर्ति भइरहेको छ ।
नेपालमा सुक्खायाम सुरु भएसँगै नदिमा पानीको सतह तीव्र रूपमा घटिरहेको छ । अब गर्मी सुरु भएर हिउँ नपग्लिएसम्म नदिमा पानीको बहाव बढ्ने अवस्था छैन । नेपालमा फागुनदेखि मात्रै हिउँ पग्लिएर पानीको सतह बढ्न सुरु हुने भएकाले पुस र माघमा आयातित विद्युतको हिस्सा थप बढ्ने अनुमान गरिएको छ।
चिसो बढेसँगै विद्युत खपत पनि बढिरहेको छ। एक महिनाको अवधिमा दैनिक विद्युत खपत पनि ६० लाख युनिटले बढेको छ ।
मंसिरको सुरुवातमा दैनिक एक करोड ८० लाख युनिट हाराहारी मात्रै विद्युत खपत हुने गरेकोमा पुसको सुरुवातसँगै विद्युत खपत दुई करोड ४५ लाख युनिट भन्दा बढी पुगेको छ ।
यो अवधिमा विद्युतको उच्चतम माग पनि करिब ४०० मेगावाटले बढिसकेको छ । एक महिना अघिसम्म अधिकतम एक हजार मेगावाट रहेको विद्युतको उच्चतम माग अहिले १३७० मेगावाट पुगेको छ ।