म्याग्दीको । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए ।
‘कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ’, उनले भने, ‘कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।’
नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।
नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।