अर्थ

श्रीराम सुगर मिलले दियो उखु किसानलाई २५ करोड

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ ।

किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो ।

उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार १६ करोड ४४ लाख ७० हजार र आइतबार आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ । मिल्सले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम ३५ करोड रहेको छ । अझै मिल्सले १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

यसैगरी मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिल्सको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको १७ करोड बाँकी रहेको छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् ।

लुम्बिनी चिनी मिल्सले आइतबारदेखि दैनिक एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *