अर्थ

पिपिआर रोगबाट मरे पाँच सय च्यांग्रा

म्याग्दी । उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पिपिआर रोगबाट ५०० भन्दा बढी च्यांग्रा मरेका छन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्यांग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख नारायण कुसुमले दुईवटा पालिकामा ५०० भन्दा बढी च्यांग्रा मरेका जानकारी दिए । ‘कात्तिकको दोस्रो हप्तादेखि महामारीका रुपमा फैलिएको पिपिआरले ठूलो क्षति पुर्याएको छ,’ उनले भने, ‘कृषकबाट ७०० को संख्यामा च्यांग्रा मरेको जानकारी आए पनि स्थलगत अध्ययन र निरीक्षणका क्रममा ५०० भन्दा बढी मरेको पाइयो ।’

उनका अनुसार मरेका च्यांग्राको स्वाब प्रयोगशालामा परीक्षण गर्दा पिपिआर रोग भएको पुष्टि भएको छ । समयमै सूचना नआउँदा रोग नियन्त्रणमा ढिलाइ भएको कुसुमले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मत्स्य तथा पशुपक्षी विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका तीनजना पशु चिकित्सकसहितको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेर फर्किएका छन् ।

बुधबार बेनी फर्किएको टोलीले स्थानीय तह र पशु सेवा शाखासँग समन्वय गरेर भेडाच्यांग्रालाई पिपिआर रोगविरुद्ध खोप लगाएको जनाएको छ । बिरामी भेडाच्यांग्राको उपचारका साथै कृषकलाई पिपिआर रोग न्यूनीकरणका उपायबारे गोठमै पुगेर परामर्श दिइएको थियो । लोमान्थाङमा फैलिएको पिपिआर नियन्त्रणमा आइसकेको केन्द्रका प्रमुख कुसुमले बताए ।

दामोदरकुण्ड लोघेकरमा नियन्त्रण उन्मुख अवस्थामा छ । औषधि र खोपको व्यवस्थापन गरेर टोली फर्किएको हो । दशैँलगत्तै फैलिएको पिपिआरबाट अधिकांश कृषकले क्षति व्यहोरेका समजुङका कृषक पासाङ छिरिङले बताए । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्यांग्रापालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *