अर्थ

तातोपानी नाका सामान्य बन्दै, उठ्यो ८ करोड राजस्व

काठमाडौं । तातोपानी नाकाबाट दैनिक १६ कन्टेनर नेपालतर्फ भित्रन थालेका छन् । पुस महिना लागेपछि तातोपानीबाट नेपाल आयात हुने सामग्री बोकेका कन्टेनरको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हो । 

मंसिरसम्म तातोपानीबाट दैनिक ५ देखि ८ वटामात्र कन्टेनर नेपाल भित्रने गरेका थिए । जसका कारण व्यापारीहरुको अर्कौं रुपैयाँ बराबरको सामान चीनमा नै अड्किएर बसेको थियो । 

तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार पुस महिना सुरु भएदेखि दैनिक १२ देखि १६ वटा कन्टेनर भित्रन थालेको छ । एक महिनामा चीनमा रोकिएका सबै कन्टेनर नेपाल प्रवेश भइसक्ने दावी उनले गरे । 

उनका अनुसार चीनमा ल्होसार सुरु हुने भएको र त्यहाँ लामो विदा हुन सक्ने भएकोले सकेसम्म ल्होसार सुरु हुनुअघि नै सबै कन्टेनर नेपाल भित्र्याउने गरी स्थानीय निकायहरुले काम गरिरहेका छन् । 

कोरोनाको कारण देखाउँदै करिब १० महिनादेखि चीनले दैनिक एकदुई वटा गरी कन्टेनर पठाउने गरेको थियो । चीनमा रोकिएका कन्टेनर जतिसक्दो छिटो पठाउनका लागि नेपालको उच्चस्तरीय तहले समेत पहल गरेको थियो । 

तातोपानी भन्सारका अनुसार गत मंसिरमासो भन्सारबाट ८ करोड रुपैयाँ राजस्व उठेको छ। कोरोनाअघि मासिक २५ करोड रुपैयाँसम्म भन्सार उठ्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *