अर्थ

कर छली गर्नेविरुद्ध उच्च अदालतमा २० करोड बिगोका ३ मुद्दा

काठमाडौं । झुटो तथा नक्कली बिल प्रयोग गर्ने विरुद्ध  राजस्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ । विजक प्रयोग गरी तथा सामानको गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको कसुरमा विभागले ३ वटा मुद्दा दायर गरेको हो । 

अभियुक्तबाट १९ करोड ९६ लाख रूपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय समेत मागदावी गरिएको छ । तीनवटै मुद्दा पाटन उच्च अदालतमा दायर गरिएको छ । 

विभागका अनुसार कविला सप्लायर्स सेन्टर, शिवम् प्याकेजिङ एन्ड सप्लायर्स र जय गौतम सप्लायर्सले नक्कली कर बिजक खरिद देखाएर आयकरतर्फ खरिद खर्च लिएको र मूल्य अभिवृद्धि करतर्फ टयाक्स क्रेडिट लिइ सरकारलाई बुझाउनुपर्ने कर छलेका हुन् ।

कविलाले ६४ लाख मुअ कर र १ करोड ४९ लाख आयकर, शिवमले २ करोड २ लाख मुअ कर, ३ करोड ३७ लाख आयकर र ४९ लाख लाभांश तथा जय श्रीले १ करोड ६२ लाख मुअ कर र ३ करोड ६९ लाख आयकर छली गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

विभागले कविलाका प्रोप्राइटर भारतका नवल किशोर चौधरी विरूद्धबाट २ करोड १४ लाख, शिवमका प्रोप्राइटर धनुषाकी सितादेवी जयसवालविरूद्ध ५ करोड ८८ लाख र जय श्रीका प्रोप्राइटर मुकेशप्रसाद चौधरीबाटविरूद्ध ५ करोड ३२ लाख विगो असुल गरी जरिवाना र कैद माग गरेको छ ।

अर्को मुद्दा शिवम ट्रेडर्स एन्ड सप्लायर्सविरूद्ध छ । सो कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा मुअ कर बिलमात्र जारी गरेको पाइएको छ । कम्पनीले १ करोड ५९ लाख मुअकर तथा ३ अर्ब २० करोड आयकर चुहावट गरेको हो । जसअनुसार शिवमका प्रोप्राइटर जगदिश सहनी मलाहसमेत ७ जनालाई जरिवाना तथा कैद माग गरिएको छ ।

यस्तै पोखराको अनुस्का मल्टिप्रपोज कम्पनीले चिनी व्यापारमा गलत विवरण घोषणा गरी राजस्व चुहावट गरेको पाइएको छ । कम्पनीले १ करोड ८२ लाख रूपैयाँ राजस्व छली गरेको पाइएको हो ।

कम्पनीका प्रोप्राइटर शिवलाल तिम्लसिनासमेत ३ जनाविरूद्ध जरिवाना तथा कैद माग गरिएको छ । यस्तै अनुसन्धानका क्रममा बरामद ७२ टन चिनी जफत गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *