अर्थ

धरहरा निर्माण कार्य २०औं तलासम्म पुग्यो

काठमाडौं । धरहराको २०औं तलाको पुनःनिर्माणको काम सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको हो ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको बताए ।

यही बार्दलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा परिसरभित्र एक हजारभन्दा बढी सवारी–साधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल निर्माणको काम पनि द्रुतगतिमा भइरहेको उनले जानकारी दिए । टक्सार संग्रहालय, भूकम्प संग्रहालयलगायतको संग्रहालय रहने भवनको निर्माणकार्य पनि भइरहेको छ ।

जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनःनिर्माण भइरहेको हो । सीईओ ज्ञवालीले चालु आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माणकार्य अगाडि बढेको बताए ।

आउँदो असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्राधिकरणको योजना छ । २०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’मा धरहरा पूर्णरुपमा क्षति भएको थियो । धरहरा पुनःनिर्माणको कुल अनुमानित लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *