अर्थ

तनहुँको एकै गाउँबाट ३ करोडको सुन्तला बिक्री

तनहुँ । जिल्लाको देवघाट गाउँपालिका-३ ल्हुङ्ग्रीङ गाउँबाट तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो ।

सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै २२ लाख आम्दानी गरेका छन्। स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट २२ लाख रुपैयाँ आम्दानी भएको बताए । ‘सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो’, उनले भने, ‘सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।’ रानाले एउटा बगैँचाबाट १५ लाख र अर्को बगैँचाबाट सात लाख बराबरको सुन्तला बिक्री गरेका छन् । ‘सुन्तला बिक्रीका लागि समस्या छैन’, उनले भने ।

स्थानीयवासी कर्णसिं गुरुङले १८ लाख, नवराज गुरुङले १५ लाख, रामबहादुर रानाले १२ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । ‘सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध छन्’, उनले भने । उनका अनुसार यस ठाउँबाट मात्रै करीब तीन करोड बढीको सुन्तला उत्पादन भएको अनुमान ।

देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुङ्ग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिए । उनले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै भने, ‘हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्ने चाँही तथ्याङ्क आउन बाँकी छ ।’

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिकटन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

‘उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ’, उनले भने, ‘१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्याङ्क छ ।’ तिवारीका अनुसार यस वर्ष करीब२३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । 

जिल्लाको म्याग्दे गाउँपालिका-२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।  व्यास नगरपालिका-११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका-२, ३ र ४, आँबुखैरेनी गाउँपालिका-२ पतेनी, शुक्लागण्डकी नगरपालिका-११ राइपुर, भीमाद नगरपालिका-९ भानुमति लगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *