पालिका खबर

अन्तःशुल्क बाहेक विराटनगर आन्तरिक राजस्वको प्रगति उत्साहजनक

काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले अन्तःशुल्कबाहेक अन्य शीर्षकमा पाँच महिनाको लक्ष्य पूरा गरेको छ । कोभिडका कारण मदिराको विक्री घटेको र गुट्खा उद्योगहरूले अन्तःशुल्कमा ठगी गर्ने गरेका कारण अन्तःशुल्कको रकमले लक्ष्य भेट्टाउन नसकेको हो ।

अन्तःशुल्कको कमजोर सङ्कलनका कारण कुल प्रगतिमै असर पुगेको छ । मङसिर महिनासम्म कार्यालयले अन्तःशुल्क शीर्षकमा १ अर्ब ५९ करोड ७६ लाख सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९१ करोड ६२ लाख सङ्कलन गरी ५७ प्रतिशत प्रगति गरेको छ ।

मूल्य अभिवृद्धि करतर्फ भने कार्यालयले १ सय ५९ प्रतिशत प्रगति गरेको छ । भ्याट मङसिरसम्मको लक्ष्य ५९ करोड ६५ लाख रहेकोमा कार्यालयले ९४ करोड ७५ लाख सङ्कलन गरेको छ । कोभिडका कारण सीमा क्षेत्र नियन्त्रण भएकाले स्वदेशी उत्पादनको विक्री बढेका कारण मूअकरको लक्ष्यमा उत्साहजनक प्रगति भएको हो ।

त्यस्तै आयकरमा पनि लक्ष्यभन्दा बढी प्रगति भएको छ । आयकरको मङ्सिरसम्मको लक्ष्य ७१ करोड १० लाख रहेकोमा ८४ करोड २४ लाख असुल गरी १ सय १८ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ। कार्यालयको मङसिरसम्मको कुल लक्ष्य २ अर्ब ९० करोड ५२ लाख रहेकोमा २ अर्ब ७० करोड ६१ लाख असुल गरी ९३ प्रतिशत प्रगति भएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *