शिक्षा

त्रिविले यसपटक हिउँदे बिदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो ।

त्रिविका रजिष्ट्रार डा.पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिए । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो ।

कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ ।

रजिष्ट्रार डा.दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् ।

त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो । उनले त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न कीर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको बताए ।

यस्तै उपत्यकाका क्याम्पस सञ्चालन गर्न पनि सरकारसँग अनुमति मागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *