अर्थ

सुन्तला पाक्ने बेलामा कीरो लागेपछि बाँसखर्कका कृषक चिन्तित

पर्वत । सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका-१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् । 

उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ सुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेँलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । ‘बढी पहेँलो भएको गेडो छिट्टै झरेको छ’, अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।’ 

बारीभरि पहेँलै भएर झरेका सुन्तला संकलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताए । उनले वर्षेनी ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्छन् । बर्षेनी रु पाँच लाखका सुन्तला बिक्री गर्ने चन्द्रकुमारी भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले आम्दानी चौपट हुने चिन्ता लागेको सुनाए ।

‘धान फल्ने खेत मासेर सुन्तला लगाएका छौँ’, उनले भने, ‘सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको छ ।’ मल, काँटछाँट र बगैँचा व्यवस्थापनमा बर्षेनी लाखभन्दा बढी खर्च हुने भण्डारीले बताए । लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटो पनि बन्द हुने अवस्था आएको बताए । 

बाँसखर्कमा वर्षेनी रु साढे तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ ।  सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौंदेखि चितवनसम्मका बजार पुर्यनउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । 

‘यसपालि बाक्लो फलेको देखेर खुसी थियौँ’, सहकारीका अध्यक्षसमेत रहेका खत्रीले भने, ‘मंसिरदेखि झर्न थालेको हो । पाकेका सुन्तला झरेपछि आम्दानीको बाटो सुक्ने चिन्ता बढ्दै गएको छ ।’  सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उनले बताए ।  किसानले सुन्तला बेचेबापत प्रतिकिलो रु पाँचका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । 

बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो । जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गरे । 

‘जोनले केही माखो मारेन’, रेग्मीले भने, ‘पहिला ब्लक हुँदा सानातिना समस्या समाधानलाई पैसा आउँथ्यो । अहिले त्यै पनि हरायो । बारीभरि सुन्तला झरेर बिजोग भएको छ । जोनलाई धेरै भन्यौँ । तर सुनुवाइ भएन ।’ 

पाक्ने बेलामा कीरो लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताए । मोदी गाउँपालिका–२ को देउपुरमा समेत गत वर्षदेखि देखिएको हाँगा कुहिने रोगको समस्या समाधान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *