पालिका खबर

च्याउफार्ममा आगलागी हुँदा ३३ लाखको क्षति

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज अपराह्न आगलागी भएको छ । च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

उक्त टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताए । उनले आगालागीका कारण करिब ३३ लाख बराबरको क्षति भएको जानकारी दिए ।

‘हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले र पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो’, सुवेदीले भने ।

फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो । बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन् ।

बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *