अर्थ

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका ४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणको तयारी थालिएको छ । 

हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरिएको छ । 

हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (ईआईए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव संकलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष घर्तीले लगानीकर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिए । 

बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्रयाक खोलिसकेका छौँ’, उनले भने, ‘मनसुन अघिसम्म विद्युतगृह र आगामी मङ्सिरसम्म बाँधलाई पहुँचमार्गले जोड्छौँ । थपिएको क्षमताको ईआईए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ ।’

आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । 

तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेटबाट विद्युतगृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । 

उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ। धवलागिरि गाउँपालिका ४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका ७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दीलगायत जलविद्युत् आयोजनाले निर्माणको तयारी थालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *