स्थानिय खबर

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन्ः मन्त्री ढकाल

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् ।

आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उनले सो क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहने बताए । ‘पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै काम गर्न कोष लाग्नुपर्नेमा जोड दिए । फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणका काम पनि तालिका अनुसार सम्पादन गर्न उहाँले कोषको ध्यानाकर्षण गराए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महत्वपूर्ण पुरातात्विक सम्पदाले भरिपूण पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार नै काम हुनुपर्नेमा जोड दिए ।

मन्त्री ढकाललाई कोषका सदस्य सचिव डा.प्रदीप ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा र कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा लगायतका पदाधिकारी एवं कर्मचारीले हाल भइरहेका गतिविधि एवं कोरोना महामारीले पशुपति क्षेत्रमा पारेको प्रभावका विषयमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *