रुपन्देही । आर्थिक समृद्धि र व्यावसायिक विकासका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको बताइएको छ । रुपन्देही व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण आर्थिक क्षेत्र नराम्ररी प्रभावित हुन सक्नेतर्फ सम्बेदनशील हुन सम्बन्धीत सबै पक्षलाई आग्रह गरे ।
उनीहरुले राजनीतिक आन्दोलनपछि देश स्थिरतातर्फ अगाडि बढेको अवस्थामा पछिल्ला दिनहरुमा केही असहजताको स्थिति देखापरेकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायीहरु सधैँ राजनीतिक स्थिरताको पक्षमा रहेको स्पष्ट पारे ।
उनीहरुले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न र आफ्नो राजनीतिक स्वार्थभन्दा देशको आर्थिक समृद्धिलाई माथि राख्नसमेत सबै राजनीतिक दललाई आग्रह गरे ।
यसरी आग्रह गर्नेहरुमा रुपन्देही व्यापार सङ्घका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, श्रीकृष्ण पोखरेल, टङ्कप्रसाद पोखरेल, निर्वतमान अध्यक्ष पदमप्रसाद श्रेष्ठ, सङ्घका सल्लाहकार एवं लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष जेपी कँडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, बुटवल उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उज्ज्वल कसजु र रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहरालगायतका छन् ।