तनहुँ । तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर र व्यास नगरपालिका-५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदाधिकारीले अवरोध गरेका हुन् ।
शान्तिनगरका केही बासिन्दाले हाल झोलुङ्गे पुल भएकै ठाउँमा पुल निर्माण हुनुपर्ने र सोही ठाउँमा माटो परीक्षण गर्नुपर्ने माग गरेका छन् । उक्त ठाउँमा यस अगाडि नै माटो परीक्षण गरिएको र उक्त ठाउँमा पुल निर्माण सम्भव नदेखिएको बताइएको छ ।
व्यास-३ स्थित महर्षि वेदव्यास संस्कृत मावि नजिक रहेको ठाउँमा माटो परीक्षणका लागि प्राविधिक टोली आइपुगेको छ । शान्तिगरका बासिन्दाले उक्त ठाउँमा विवाद गरेपछि एक÷दुई दिनका लागि काम रोक्न आग्रह गरिएको व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।
माटो परीक्षणका लागि अवरोध भएपछि पाटनवासीले व्यास नगरपालिका घेराउ गरेका छन् । उनीहरुले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई भेटी काम सञ्चालन गर्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।