अर्थ

फास्टट्रयाकमा अप्टिकल फाइबर बिछ्याउने विषयमा टेलिकमसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग स्पष्टीकरण सोधेको छ । प्राधिकरणले मंगलबार टेलिकमलाई पत्र लेखी आफूहरुसँग कुनै समन्वय नै नगरी काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको भन्दै टेलिकमलाई स्पष्टीकरण सोधेको हो ।

नेपाल टेलिकमले यही पुस १० गते काठमाडौं­तराई मधेस द्रुत सडक आयोजनासँग अप्टिकल फाइवर बिछ्याउने सम्झौता गरेको हो । सो आयोजनाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार दूरसञ्चार पूर्वाधार नियमावली २०७४ अनुसार ठूलो पूर्वाधारका काम गर्दा प्राधिकरणको पूर्वस्वीकृति अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । तर नेपाल टेलिकमले भने आफूखुसी नेपाली सेनासँग द्रुत सडक आयोजनामा अप्टिकल फाइवर ओछ्याउने भन्दै सम्झौता गरेको हो । 

अर्यालका अनुसार प्राधिकरणले टेलिकमसँग सम्पूर्ण सिस्टमलाई धान्ने गरी अप्टिकल फाइबर ओछ्याउनुपर्ने भएकोले केकसरी काम गर्ने, कस्ता उपकरण प्रयोग हुने, अन्य ठूला कम्पनीहरुको क्षमतालाई धान्छ कि धान्दैन भन्ने जस्ता कुराहरुमा स्पष्ट पार्नका लागि टेलिकमलाई पत्र काटिएको हो । 

नेपाल टेलिकमले पछिल्लो समय मनोमानी रुपमा काम गर्दै गएपछि टेलिकमसँग प्राधिकरण असन्तुष्ट छ । त्यसैको पछिल्लो उदाहरण मंगलबार प्राधिकरणले टेलिकमलाई सात दिने स्पष्टीकरण सोधेको हो । 

प्राधिकरणले आफ्नो स्तरबाट पनि द्रुतमार्गमा अप्टिकल फाइबर लगायतका इन्टरनेट पूर्वाधार विस्तार गर्ने तयारी गरिरहेको थियो । तर टेलिकमले भने कुनै सल्लाह तथा समन्वय नै नगरी नेपाली सेनासँग सम्झौता गरेको छ । 

काठमाडौंलाई मधेससँग जोड्ने छोटो (७२.५ किमी) लामो फास्ट ट्रयाकमा टेलिकमले आफ्नै लागतमा इन्टरनेट पूर्वाधार विकास गर्ने गरी सम्झौता गरेको थियो । तर सो कार्यक्षेत्र भने प्राधिकरणको रहेको अर्यालले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *