अर्थ

विद्युत् ग्रिड आधुनिकीकरणका लागि एडीबीले १५६ मिलियन डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच विद्युत् ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबी नेपाल कार्यालयका प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एडीबीले १५६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउनेछ ।

सहसचिव नेपालले एडीबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले थप लगानी गरी १९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताए ।

यो आयोजनाले विद्युत् वितरणसम्बन्धी तीनओटा मुख्य क्रियाकलापलाई जोड दिएको छ । विद्युत् सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत् वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताए ।

आयोजनाले विद्युत् प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना पाँच वर्षमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *