सहकारी दर्पण

म निरन्तर विकासका पक्षमा छु: मुख्यमन्त्री

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन् । मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा आज आयोजित समाहरोमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखे ।

उनले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम गरेको उल्लेख गर्दै सरकारको विकासको कामबाट त्रसित भएका व्यक्तिले सरकारका विरुद्ध कार्य गरिरहेको बताए ।

पौडेलले मकवानपुरबाटै निर्वाचित भएका व्यक्तिले यही जिल्लाका मुख्यमन्त्रीविरुद्ध काम गरिरहेको घटनालाई जिल्लावासीले मसिनो गरी केलाउनुपर्ने धारणा राखे । जिल्लाको विकास नचाहनेलाई पहिचान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कुन नेता ठीक र कुन बेठीक भनेर छुट्याउनुपर्ने बेला भएको बताए ।

स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको सहकारीलाई शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले थैलीमा राखेर पुँजी नबढ्ने धारणा राखे । सहकारीले देशमा उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । उनले देशमा थुप्रै अवसर भए पनि पुँजी अभावका कारण बाहिरिएका जनशक्तिलाई स्वदेशमा नै भित्र्याउन सहकारीले भूमिका खेल्नसक्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *