अर्थ

आम्दानीको स्रोत बन्दै ‘लेमन टी’

लहान । न त ठूलो पूँजी लगाउनु परेको छ न त कुनै पसल नै खोलेर बस्नु परेको छ, तर पनि कैलालीको मोनेल गाउँपालिका–६ घर भई राजविराज नगरपालिकामा बस्दै आएका ताराप्रसाद जोशीले राम्रो आम्दानी गरिरहेका छन् । 

उनको कमाईको स्रोत कुनै जागिर वा अन्य कुनै कठोर परिश्रम नभई घुमफिर कागती चिया (लेमन टी) चिया बेच्ने व्यवसाय हो । सप्तरी सदरमुकाम राजविराज नगर क्षेत्रमा लेमन टी चियावालाका रुपमा परिचित ४८ वर्षीय जोशी राजविराज नगर क्षेत्रको घरघर, चौकचौक र सरकारी कार्यालयमा लेमन टी चिया पुर्याएर  राम्रो आम्दानी गर्दै आएका छन् । लेमन टी चिया बेचेरै जोशीले ६ जनाको परिवार मात्रै पाल्दै आएका छैन, आफ्ना चारजना छोराछोरीलाई समेत उच्च शिक्षामा पढाइ रहेका छन् । 

उनले गरिबी र पारीवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाइसकेका छन् । विगत चार वर्षदेखि नगर क्षेत्रमा घुमफिर लेमन टी चियाको व्यवसायी गर्दै आएका जोशीले राजविराजमा घरघडेरीसमेत जोड्ने तयारी गर्दै छन् ।

लेमन टी चिया बेचेर दैनिक एक हजार ५०० देखि दुई हजारसम्म कमाई हुँदै आएको उनी बताउँछन् । ‘दिनमा २०० देखि २५० कपसम्म लेमन टी चिया बिक्री हुँदै आएको छ’, जोशी भन्छन्, ‘एक कपको रु १० आउँछ यसरी जोड्दा दैनिक दुई हजारभन्दा बढी कमाई भइहाल्छ ।’  स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त मानिने लेमन टी चियाको माग बजारमा अत्यधिक भए पनि एक्लैले चिया पुर्याउन भ्याइनभ्याई हुने गरेको उनको कथन छ । 
    
थोरै लगानीबाट सुरु गरेको घुमफिर लेमन टी चिया बेच्ने व्यवसायी गरी परिवार पाल्नाका साथै त्यही कमाईबाट अहिले जेठो छोरालाई सिभिल इन्जिनीयर, कान्छो छोरालाई ओभरसियर र जेठी छोरीलाई स्टाफ नर्स पढाइ रहेको जोशीको भनाइ छ । 


गाउँका छिमेकीहरुको सहयोगमा राजविराजमा आएर लेमन टी चिया बनाएर बेच्ने काम सुरु  गरेको सम्झिँदै जोसी भन्छन्,  ‘‘आफ्नो घर नजिकैका साथी राजविराज नजिकैको भारतको कुनौलीमा चियाको व्यापार गरिरहनु भएको छ, उहाँकै सहयोगमा म राजविराजमा आएर यही काम शुरु गरे, अहिले आफ्नो व्यवसायी राम्रो भएको छ ।’ 

स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण लेमन टीप्रति बढेकाले जोशीको घुमफिर चिया व्यापार फस्टाएको स्थानीय व्यापारीको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *