अर्थ

बढ्यो दैनिक उपभोग्य वस्तुको मूल्य

काठमाडौं । आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको मुद्रास्फीति ह्वातै बढेको छ । तेलहन, गेडागुडी, दाल, चामलको मूल्य पछिल्लो समय आकाशिएको उपभोक्ताको गुनासो छ ।

सिनामंगलस्थित मुना किरना पसल सञ्चालक विक्रम कार्की सबै खाद्य सामग्रीको मूल्य बढेको बताउँछन् । उनका अनुसार सबैभन्दा बढी मूल्य तेलमा बढेको छ ।

‘दुई साताअघि १७० मा पाउने एक लिटर सनफ्लाओर तेल अहिले २०० पर्छ,’ उनले भने, ‘चार वर्षअघि पसल खोल्दा १२० मा सनफ्लाओर तेल बेचेको, अहिले २०० पुग्यो । एक महिनाअगाडि १३ सयमा पाइने जिरा मसिनो अहिले १४ सय पुग्यो । दालमा पनि १० देखि १५ रुपैयाँ बढेको छ ।’

एक महिनामा नै मासको दाल प्रतिकेजी २० रुपैयाँसम्म बढेर १९० र रातो मसिनो दाल पनि १५ देखि २० रुपैयाँसम्मले बढेर १५० सम्म पुगेको उनीहरुको भनाइ छ ।

राष्ट्र बैंकले हरेक महिना प्रकाशित गर्ने मुद्रास्फीतिको तथ्याङ्कमा पनि गैरखाद्य तथा सेवाभन्दा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि उच्च रहेको छ । खाद्य तथा पेयपदार्थ समूहमा पनि गेडागुडी र हरियो तरकारीको मूल्यवृद्धि तुलनात्मकरुपमा बढी रहेको राष्ट्र बैंकका प्रवक्तासमेत रहेका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।

चालु आर्थिक वर्षमा समग्र मुद्रास्फीति नियन्त्रित भए पनि साउनदेखि नै खाद्यवस्तुको मुद्रस्फीति उच्च रहेको डा. भट्ट बताउँछन् ।

‘तरकारीको गत महिना हेर्दा पनि २१ प्रतिशत रहेको देखिन्छ, अघिल्ल्लो महिनामा पनि २३/२४ प्रतिशत रहेको छ,’ उनले भने, ‘यस्तै, तेलहन पदार्थको मूल्यवृद्धि ११ प्रतिशत र दाल तथा गेडागुडीको मूल्यवृद्धि १४ प्रतिशत रहेको छ ।’ यसले पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च रहेको देखाउने उनको भनाइ छ ।

उपभोग्य वस्तुहरुको मूल्यवृद्धि बढी भए पनि समग्र मूल्यवृद्धि भने नियन्त्रित नै रहेको उनको दाबी छ ।

कात्तिकसम्मको उपभोक्ता मुद्रास्फीति ४.३२ प्रतिशत रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्दै उपभोक्ता मुद्रास्फीतिलाई पनि ७ प्रतिशतभित्र कायम राख्ने बताएको थियो । त्यसपछि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बजेटमा उल्लेखित ७ प्रतिशतको उपभोक्त मुद्रास्फीतिलाई सदर गरेको थियो ।

२१ प्रतिशतको क्रेडिट ग्रानेथको अपेक्षा राखेको केन्द्रीय बैंकले उपभोक्ता मुद्रास्फीतिलाई ७ प्रतिशतमा राख्ने लक्ष्य महत्वाकांक्षी भएको भन्दै आलोचना भयो । तर, कोभिड–१९ को कारण उपभोक्ताको क्रयशक्तिमा आएको कमीले गर्दा चालु आर्थिक वर्षको पहिलो चार महिनाको मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै कम देखिए पनि मंसिरपछिको अवस्था भने फरक हुने अनुमान लगाउन सकिन्छ ।

कर्जाको माग बढ्दै जानु, आर्थिक क्रियाकलाप वृद्धि हुनुले अब बजार चलायमान हुने संकेत गरेको र मंसिरपछि ह्वातै महँगी बढेको अनुभूति आम उपभोक्ताले गरेका छन् । किसानले समयमा रासायनिक मल नपाए पनि मौसमको अनुकूलताले गर्दा चालु आर्थिक वर्षमा धानको उत्पादन बढेको प्रारम्भिक तथ्याङ्क आउँदा पनि चामलको मूल्यवृद्धि भने बढेको छ ।

राष्ट्र बैंकका प्रवक्ता भट्ट आगामी दिनको अनुमानले अहिले मूल्य बढेको हुन सक्ने बताउँछन् ।

अर्कोतर्फ गत चैतबाट भएको लकडाउनले गर्दा सयमा बीऊ–बिजन उपलब्ध नहुँदा तरकारी तथा दलहन पदार्थको उत्पादन पनि घटेको बताइन्छ । जसले गर्दा पनि तरकारी तथा दाल र गेडागुडीको मूल्यवृद्धि तुलनात्मकरुपमा बढी भएको हो ।

औपचारिक तथ्याङक नआए पनि अनौपचारिक माध्यमबाट पुस लागेपछि झनै मूल्यवृद्धि बढेको पुष्टि हुन्छ ।

तर, नेपालमा मूल्यवृद्धिको मुख्य कारण भने भारतीय मुद्रास्फीतिको प्रभाव नै भएको उनको दाबी छ  । नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग नै निर्भर रहेको र नेपालको आन्तरिक उत्पादनले नधान्ने दैनिक उपभोग्य वस्तु भारतसँग नै निर्भर भएकोले भारतामा मूल्यवृद्धि उच्च हुँदा त्यसको प्रभाव नेपालमा देखिएको डा. भट्ट बताउँछन् ।

लगाताररुपमा भारतमा मूल्यवृद्धि लक्ष्यभन्दा माथि देखिँदै आएको छ । ‘उपभोग्य वस्तुको मूल्यवृद्धिको मुख्य सम्बन्ध आपूर्तिसँगको हो । उपभोग्य वस्तुको आन्तरिक उत्पादन धेरै हुनसकेन,’ डा. भट्टले भने, ‘अर्को भनेको, भारतको पनि मूल्यवृद्धि उच्च छ, भारतको मूल्यवृद्धिको चाप पनि खाद्य समूहकै मूल्यवृद्धिको चाप हो । जसको प्रभाव पनि नेपालमा खाद्य समूहको मूल्यवृद्धि बढी भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *