सहकारी दर्पण

देशभर ३० हजार सहकारी सञ्चालनमा

काठमाडौं । देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययनअनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो ।

विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म सहकारीको तथ्यांक संकलन गरेको थियो । हाल सञ्चालित सहकारीमध्ये संघीय सरकारअन्तर्गत १२५, प्रदेश सरकारअन्तर्गत ६ हजार दुई र स्थानीय सरकारअन्तर्गत सबैभन्दा धेरै २३ हजार ७५९ सहकारी संस्था रहेका विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार विभागले संकलन गरेको तथ्यांकमध्ये हाल देशभर २९ हजार ८८६ प्रारम्भिक सहकारी संस्था, २० विषयगत केन्द्रीय सङ्घ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासंघ, ७० जिल्ला सहकारी सङ्घ र २४१ विषयगत जिल्ला सहकारी संघ क्रियाशील छन् ।

उक्त सहकारी संस्थाले करीब ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी दिएको, ७३ लाख सात हजार ४६२ जना आबद्ध भएको र रु ९४ अर्ब १० करोड ५० लाख शेयर पूँजी रहेको पाइएको छ ।

संघीयता कार्यान्वयनमा आएसँगै तीन तहमा अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरु तीनै तहका सरकारलाई हस्तान्तरण गरिएको छ ।

उनका अनुसार तीनै तहमा हस्तान्तरण गरेपछि पहिलोपटक विभागले देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको तथ्यांक संकलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *