अर्थ

१८ वर्षपछि सार्थकता पाउँदै बागलुङ बसपार्क

गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ । अहिले बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणका लागि १८ वर्षअघि बागलुङ बजारवासीले उपल्ला चौरको दाबगरामा व्यक्तिगत जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको थियो । जग्गा प्राप्त भएको १८ वर्षपछि बसपार्क निर्माणले अन्तिम रुप लिएको हो ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माणको कार्य जनप्रतिनिधि आएपछि २०७५ सालमा बागलुङ नगरपालिकाको पहलपछि गति लिएको थियो ।ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण सकिन थालेको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौं मूल्यपर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण हुन सकेको थिएन ।

बागलुङ नगरपालिका–४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीयवासी ५२ जनाले निःशुल्क रुपमा उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम अन्तिमचरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए ।

‘बसपार्क निर्माणको काम लगभग सकिएको छ, रङ्गरोगन, विद्युत् जडान र पार्कीङस्थलको कालोपत्र गर्न बाँकी हो’, उनले भने, ‘डेढवर्षमा सकिने बसपार्कको निर्माण कार्य कोरोना संक्रमणका त्रासका कारण केही ढिला गरी सम्पन्न हुन लागेको हो ।’ दुई महिनाभित्रै बसपार्क हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले अन्तिम रुप दिन थालेको उनको भनाइ छ ।

विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक ६/६ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको तथा पार्किङस्थलको कालोपत्रको तयारी भइरहेको छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत आर्थिक प्रगति भएको इञ्जिनीयर शर्माले जानकारी दिए ।

कोरोना जोखिमका कारण निर्माणमा केही ढिलाइ भए पनि आगामी फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्नेगरी बाँकी कामलाई तीव्रता दिइएको बसपार्क निर्माणको जिम्मा लिएका आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिए ।

‘पार्किङ र रङ्गरोगनको मात्रै काम बाँकी छ, अहिले पार्किङ कालोपत्रका लागि ग्राभेलको काम भइरहेको छ’, उनले भने, ‘कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले थपेको समयभित्रै बसपार्क हस्तान्तरण गरिनेछ ।’

स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साँढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गर्ने गरी नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो ।

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भूइँ तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो ।

व्यवस्थित बसपार्क नहुँदा बागलुङ बजारहुँदै जाने मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरलगायत बागलुङ बजार मध्यविन्दुका रुपमा विकसित भएकाले बजारमा बढ्दो सवारी चाप नियन्त्रण गर्न समस्या हुँदै आएको थियो । बागलुङमा व्यवस्थित बसपार्क निर्माण नहुँदा ट्राफिक समस्या झेलिरहेका बागलुङबासीलाई अब सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *