अर्थ

सुनचाँदी महासंघमा राजनीति नगर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गर्न नहुने बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारणसभा तथा तेस्रो महाधिवेशनमा मन्त्री श्रेष्ठले व्यवसायमा राजनीति प्रवेश गर्नु नहुने बताएका हुन् ।

‘हिजो म महासंघमा हुँदा व्यवसायीका हकहितको पक्षमा धेरै काम गरेँ, कति माग सम्बोधनका विषयमा दबाबसमेत दिइयो, तपाईहरुका समस्याहरु केके छन् समाधन गर्न म सहयोग गर्छु’, उनले भने, ‘सरकार व्यवसायीको साथमा छ, समस्याको समाधान गर्ने जिम्मा मेरो भयो ।’ मन्त्री श्रेष्ठ महासंघको सल्लाहकारको रुपमा रहेका छन् ।

महासंघका अध्यक्ष मोहनकृष्ण विश्वकर्माले व्यावसायिक वातावरण नहुँदा खुम्चिएर व्यवसाय सञ्चालन गर्नुपरेको बताएका छन् । उनले सरकारले सुनको कारोबार गर्न दैनिक कोटा तोकिँदा खुला रुपमा व्यवसाय गर्न नपाएको भन्दै पुराना संस्कृति, परम्परा र इतिहास कायम राख्न व्यवसायीलाई सहयोग गर्न उनले आग्रह गरे ।

उनले सुनचादीँ व्यवसायमा मात्र देशभर रु ५० अर्ब बढी लगानी भएको र वार्षिक रुपमा रु १२ अर्ब बढी राजश्व बुझाउँदै आएको बताए ।

हामीले यतिधेरै राजश्व सरकारलाई बुझाउने गरेको भए पनि सहज रुपमा सुनका लागि आवश्यक पर्ने कच्चा पदार्थसमेत नपाएको उनले गुनासो गरे ।

उनले व्यावसायिक नीति, नियम, निर्देशिका, नियमावली, ऐन र कानून नबन्दा ऐन कानूनबिना नै सरकारले व्यवसायीलाई विभिन्न समयमा बजार अनुगमन गरी दुःख दिने काम गरेको बताए ।

कोभिड–१९ को समयमा महासंघले देशभर रु एक करोड ४० लाख बराबरको राहत वितरण गरेको र सबै कर्मचारीहरुलाई सेवासुविधा उपलब्ध गराइएको उनले बताए ।

महासंघको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति चयन शनिबार हुने महासंघले जनाएको छ । सबै पदमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको तयारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *