बागलुङ । कृषि र पशुपालन स्वरोजगारीका लागि उत्तम पेशा हो । बजार र उपभोक्ता प्रशस्त रहेकाले कृषिउपज र पशुजन्य उत्पादन गर्नेका लागि राम्रो अवसर छन् । यस्ता अवसरको पहिचान र उपयोगमा पछिल्लो समय स्थानीय सरकारले चासो देखाउन थालेका छन् ।
कोरोना महामारीले थला परेको रोजगारीको क्षेत्रबाट विस्थापितलाई कृषि र पशुपालन व्यवसायमा अकर्षित गर्नका लागि बागलुङको गलकोट नगरपालिकाले वडाअनुसारको उत्पादनमा जोड दिएको हो ।
वडाअनुसार साना कृषि उत्पादन केन्द्र ‘पकेट क्षेत्र’ घोषणा गरेर नगरपालिकाले कृषि र पशुपालनमा व्यावसायिकता विस्तार गर्न थालेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
नगरपालिकाले भौगोलिक अवस्थिति र माटो तथा हावापानीका आधारमा वडामा उत्पादन हुनसक्ने कृषिजन्य उत्पादनको पहिचानसमेत गरेको छ । ‘जहाँ जे हुन्छ त्यसकै लागि प्रोत्साहन गर्ने नीति बनाएका छौँ’, नगरप्रमुख गैरे भन्छन्, ‘ऊर्जाशील जनशक्तिको उपयोग गरेर उत्पादन बढाउँछौँ ।’
गण्डकी प्रदेश सरकारले साना कृषि उत्पादन केन्द्र ‘पकेट क्षेत्र’ घोषणाका लागि बजेट विनियोजन गरेको छ । जसको कार्यान्वयन स्थानीय तहले गर्नेछन् । प्रदेशको कार्यक्रमलाई माटो सुहाउँदो उत्पादन सिफारिस गरेर कार्यान्वयन गर्न थालिएको गैरेले बताए ।
नगरपालिकाले वडाअनुसारका उत्पादनको सूची तयार गरेको छ । वडा नं १ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ बाख्रा पकेट घोषण गरेको हो । वडा नं २ मा तरकारी उत्पादन गर्ने किसानले बङ्गुरपालन गर्नेछन् ।
फलफूल बालीका लागि राम्रो हावापानी रहेको वडा नं ३ मा सुन्तला जातका फलफूलको पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको गैरेले बताए ।