पालिका खबर

सवारी चालकलाई सडकमै प्रशिक्षण

तनहुँ । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक साताको अवधिमा करीब एक हजार चालकलाई सडकमै प्रशिक्षण दिएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाको ट्राफिक व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत तनहुँका विभिन्न ठाउँमा ९४० वटा दुईपाङ्ग्रे सवारीका चालकलाई प्रशिक्षण दिइएको हो ।

यही पुस १९ देखि २५ गतेसम्म मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

रानाभाटका अनुसार व्यास नगरपालिकाको दमौली, घाँसीकुवा, आँबुखैरेनी गाउँपालिकाको एक्लेफाँट, म्याग्दे गाउँपालिकाको गुणादी, बन्दीपुर गाउँपालिकाको डुम्रे र शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा प्रशिक्षण सञ्चालन गरिएको छ ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत दुईपाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारीसाधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ ।

प्रशिक्षणका क्रममा लेन अनुशासनको पालना गर्नुपर्ने, मादक पदार्थ सेवन नगरी सवारी चलाउनुपर्ने, सवारी चालक अनुमतिपत्र बोक्नुपर्ने, रातको समयमा हेडलाइट बाल्नुपर्ने, अनावश्यक हर्नको प्रयोग नगर्न, कलिला बालबालिकालाई सवारी साधन प्रयोग गर्न नदिने विषयमा दुईपाङ्ग्रे सवारी चालकलाई जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *