काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी पार्टी भएको बताएका छन् ।
मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा सोमबार आयोजना गरेको ‘नेपालमा महिला समानताको संवैधानिक तथा कानुनी व्यवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक ‘भर्चुअल’ छलफल कार्यक्रममा सभापति देउवाले उक्त कुरा बताएका हुन् ।
सभापति देउवाले भने, ‘महिलाहरुलाई मेरो अनुरोध छ– भोटर महिला ल्याउनुपर्यो । महिला संघले बढी से बढी महिला भोटर बढाउनुपर्यो,’ सभापति देउवाले भने, ‘सबभन्दा बढी समावेशी पार्टी हाम्रै छ । गाउँका सबै महिलाको भोट आउनुपर्यो नि । अहिलेको प्रजातन्त्रमा भोट ठूलो कुरा हो भोट । ३३ प्रतिशत महिला भोटर त कांग्रेसमा ल्याउनुपर्यो ।’
देउवाले अहिले पार्टीमा बढीभन्दा बढी महिलालाई मतदाताका रूपमा भित्र्याउन सके आगामी दिनमा महिलानै नेपालको प्रधानमन्त्री बन्न सक्ने बताए । देउवाले भने, ‘प्राइमिनिस्टर बन्नु सक्नुहुन्छ भोलि, त्यो काम पहिले गर्नुस् न! महिलाले महिला भोटर ल्याउँ, दलितले दलित, जानजातिले जानजाति, थारुले थारु, मुस्लिमले मुस्लिम भोटर बढाऔं ।’
सभापति देउवाले कांग्रेसको जस्तो अन्य पार्टीले महिला, आदिवासी, जातजाति, थारु, मुस्लिमलाई आरक्षण नदिएको पनि दाबी गर्दै पार्टीले सबैलाई आरक्षण दिएको भनाइ राखे। उनले भने, ‘जनसंख्याको आधारमा आरक्षण दिएको छ। हाम्रो पार्टीमा जस्तो कुनै पनि पार्टीले आरक्षण दिएको छैन। तर, आरक्षणमात्रै भएर भएनन नि, जनताको भोट पनि आउनुपर्यो।’
छलफल कार्यक्रममा केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कांग्रेसले एक तिहाइ महिलालाई गाउँपालिका र नगरपालिका प्रमुखमा प्रत्यक्षतर्फ अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, ‘समावेशिता र समानताका कुरा गर्दै गर्दा नेपाली कांग्रेसले अब एक तिहाइ महिलालाई गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयरमा लैजानुपर्ने आवश्यकता छ। त्यो पनि समानुपातिकबाट होइन, प्रत्यक्षमै लैजानुपर्छ।’
संविधानले गरेको व्यवस्थाकै कारण संघीय संसदमा ३३ प्रतिशत, प्रदेशसभामा महिलाको प्रतिनिधित्व ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व पुग्नुलाई महिला मूल प्रवाहमा आएका मान्न नसकिने धारणा राखिन्।
‘त्यो पुग्नुले समग्र महिलाहरू नीति निर्माण र विकासको मूल प्रवाहमा आउन सक्दैनन्। त्यो पुग्ने प्रक्रिया पनि के भयो भने समानुपातिक प्रक्रियाबाट पुग्यौं। जनताबाट चुनिएर जान सकेनौं,’ उनले भनिन्।
यस्तै केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी नेतृत्वलाई फराकिलो हृदय बनाएर महिलालाई अघि बढाउन आग्रह गरिन्। ‘महिलालाई उच्च स्थान दिएर प्रधानमन्त्री, पार्टी सभापतिमा ल्याउनुपर्छ,’ उनले भनिन्।