काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल (प्रचण्ड) -माधवकुमार नेपाल पक्षले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
सोमबार अध्यक्षद्वय प्रचण्ड र नेपालसहित केही शीर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडी बढाउँदा प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेको हो ।
अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको नेकपाका नेता लिलामणि पोखरेलले बताए ।
साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सम्बन्धित कागजातहरुको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताए ।
निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरु टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताए ।