सहकारी दर्पण

सहकारीको व्याजदर १४.७५ प्रतिशत कायमः कार्तिक १५ बाट लागू हुने

काठमाडौं । सहकारी विभागले आगामी कार्तिक १५ गतेबाट लागू हुने गरी मुलुकभरका सहकारीहरुका लागि १४.७५ प्रतिशत व्याजदर निर्धारण गरेको छ । सहकारी विभागमा आज अपरान्ह बसेको सन्दर्भ व्याजदर निर्धारण समितिको  बैठकले देशभरका सहकारीहरुको ब्याजदरमा एकरुपता कायम गर्न १४.७५ प्रतिशत ब्याज दर तय गरेको हो । यसअघि सहकारी विभागले गत वर्ष अर्थात् २०७६ साल साउन १९ मा पहिलो पटक सहकारीमा १६ प्रतिशत सन्दर्भ व्याजदर निर्धारण गरेको थियो । 

व्याजदर निर्धारण समितिले देशभरका सहकारीहरुको व्याजदर अध्ययन गरी सिफारिश गर्न राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिको सुझावको आधारमा व्याजदर निर्धारण समितिले छलफल गरी नयाँ व्याजदर तोकेको हो ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको संयोजकमा सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे रहुनभएको छ । सहकारी ऐन २०७४ को दफा ५१ मा सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघको अध्यक्ष वा निजले तोकेको सञ्चालक प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकको प्रतिनिधि, महासंघको अध्यक्ष वा निजले तोकेको सञ्चालक एक र महासंघले तोकेको केन्द्रीय विषयगत संघहरुबाट २ जना र सहकारी विभागका उप रजिष्ट्रार सदस्य सचिव रहने समितिको सिफारिशमा सहकारी संस्थाको प्रयोजनका लागि बचत तथा ऋणको सन्दर्भ व्याजदर (रेफरेन्स इन्ट्रेस्ट रेट) को अधिकतम सीमा तोक्न सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी, सहकारी नियमावली २०७५ को नियम २३ मा सन्दर्भ व्याजदर निर्धारण गर्दा ब्याजदर निर्धारण समितिले लिनुपर्ने आधारहरुको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *