अर्थ

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् ।

हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले काठमाडौंको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटे सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकिएको बताए ।

उनले आफ्नो मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशन गरिने जानकारी दिए । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर र प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन पनि दिए ।

उनले पूर्वाधार मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिका लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण २२ इन्जिनीयरलाई स्वागत गरे । मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुरुङ मार्गको स्थलगत अवलोकन गरेका थियो । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

सञ्चार क्षेत्रका समस्या समाधानका लागि सञ्चारमन्त्रीसँग महासंघको मागकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई नेपाल पत्रकार महासङ्घ काठमाडौंले श्रमजीवी पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आज १६ बुँदे माग राखेर ध्यानाकर्षण गराएको छ ।

शाखाका अध्यक्ष शन्तराम बिंडारीको नेतृत्वमा पत्रकारले सिंहदरबारमा मन्त्री गुरुङलाई भेटी कोभिडपछि पत्रकारिता क्षेत्रमा आएको चुनौती, ससाना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई संरक्षण, उपचार कोष वृद्धि, सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीलाई स्थायी हुनका लागि लिइने सेवा आयोगका परीक्षामा उमेर हद लगाउन नहुनेलगायत माग गरेका छन् ।

ध्यानाकर्षणपत्र बुझेपछि सरकारका प्रवक्ता गुरुङले पत्रकारिता क्षेत्र मर्यादित तथा व्यवस्थित बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारकर्मीले आचारसंहिता कार्यान्वयन गरी जिम्मेवार बन्न आग्रह गरे ।

उनले पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफू लागि पर्ने आश्वासन पनि दिए । अध्यक्ष बिंडारीले मन्त्रालयले हालै जिल्लाबाट प्रेस प्रतिनिधि परिचयपत्र, प्रदेशबाट अनलाइन दर्ता तथा म्याद थपको व्यवस्था मिलाएकामा सराहना गर्दै १६ बुँदे माग तत्काल कार्यान्वयन गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *