स्थानिय खबर

कमल पोखरीः स्थानीयसँग छलफल गरेर पुननिर्माण गर्ने महानगरको तयारी

काठमाडौं । कमल पोखरी पुननिर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो आएसँगै काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमल पोखरीको संरचना बनाउने भएको छ ।

कमलपोखरीको पुननिर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ । तर महानगरले स्थानीयसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माणकार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो ।

कमल पोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पूजा गरिदै आएको छ । छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमती अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको महानगरका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

खाली जमिन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ । पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरि पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइने उपाध्यक्ष बस्नेतको भनाइ छ ।

ढुंगा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उपाध्यक्ष बस्नेतले बताए । करिब ७ करोडको लागतमा कमलपोखरी पुननिर्माण हुन लागेको जानकारी दिदैँ उनले आगामी बैशाखसम्ममा सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *