अर्थ

नेपाल-भारत पेट्रोलियम पाइपलाइनकाे पाइप फुटाएर डिजेल चोरी

काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा फुटाएर हजारौं लिटर डिजेल चोरी भएको भारतीय मिडियाले जनाएका छन् । पटनाबाट नेपाल आउने पेट्रोलियम पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको इन्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसिएल) ले बताएको नवभारत टाइम्सले उल्लेख गरेको छ । 

मोतीहारी अमलेखगञ्ज पाइपलाइनअन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवानअन्तर्गतको नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको बताइएको छ । आइओसीएलका अधिकारीहरुले यसबारे थाहा पाएपछि उनीहरु तत्कालै घटनास्थल पुगेको बताएका छन् । 

बिहारमा यो पहिलो घटना हो । पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजेल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए । डिजेल चुहावट भएको निरीक्षण गर्न गएका अधिकारीहरुले चोरी भएको पत्ता लगाएका हुन् ।

अधिकारीहरूले जिल्ला प्रशासन र जिल्ला प्रहरीलाई यस चोरीको घटनाबारे जानकारी गराएका छन् । मुख्य पाइपलाइनमा अर्को पाइप जोडेर दैनिक हजारौं लिटर डिजेल चोरी भएको भारतीय अधिकारीले जनाएका छन् । 

महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष भदौ २४ गते संयुक्त रुपमा उद्‍घाटन गरेका थिए । यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो । हाल यस पाइपलाइनबाट डिजेल सप्लाइ भइरहेकाे छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *