पालिका खबर

अद्यावधिक नभएपछि बागलुङका स्थानीय तहका वेबसाइटप्रथि गुनासो बढ्यो

बागलुङ । जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाइट सञ्चालनमा ल्याए पनि बागलुङका पालिकामा अपडेट हुन नसकेको पाइएको छ । 

आफ्ना नयाँ कार्यक्रम र गतिविधिलाई पारदर्शी, सेवा तथा सूचनामूलक बनाउन सबैजसो कार्यालयको वेबसाइट बनाए पनि  अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट छैनन् ।

जिल्लाको सबैभन्दा महत्वपूर्ण कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले समेत आफ्नो वेबसाइटमा अपडेट नगरेको पाइएको छ ।  जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । 

अझ कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा निर्वाचित जनप्रतिनिधिको समेत विवरण राखेका छैनन् भने सम्पर्क नम्बर पनि गलत छन् । स्थानीय तहको सबै विवरण शीर्षकअनुसार हुनुपर्नेमा सामान्य अपडेट मात्रै गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको वबसाइडमा जिल्लाका सरकारी कार्यालय प्रमुखको विवरणमा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुको नाम छ ।

जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने आएको पनि चार महिना बितिसक्यो । यस विषयमा जानकारी लिँदा प्रमुख जिल्ला अधिकारीले केही अपडेट नभएको भए सच्चाउने प्रतिबद्धता जनाए । 

बागलुङका धेरैजसो स्थानीय तहका वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक तथा चौमासिक आयव्याय, वार्षिक प्रगति प्रतिवेदनलगायतका विवरण भने अपडेट नै गरिएको छैन । 

केही अपडेट गरिए पनि पूर्ण छैनन् । वेबसाइट अपडेट नहुँदा सामान्य सूचना लिनका लागि पनि स्थानीय तह र सरकारी कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता छ ।  हरेक स्थानीय तहमा वेबसाइट अपडेट गर्ने कर्मचारी भए पनि अपडेट नगरी तलब मात्रै खाएर बसेको सेवाग्राही गणेश शर्माले गुनासो गरे । 

निसीखोला गाउँपालिकाको वेबसाइटमा सामान्य जनप्रतिनिधि र वडाको विवरणबाहेक अन्य कुरा वेबसाइटमा राखिएको छैन ।  वेबसाइट तीन महिनाअघिसम्म खुल्दै नखुल्ने समस्या थियो । पछिल्लो समय त्यसमा सुधार गरेर बल्ल वेबसाइट अपडेटमा लागेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत नारायण पौडेलले बताए । अहिले निसीखोलाको मोबाइल एपसमेत रहेको छ ।  

गलकोट नगरपालिकाले वडा अध्यक्षको समेत विवरण राख्न सकेको छैन । वडा कार्यालय र सम्पर्क नम्बर राखे पनि ११ वटै वडाको सम्पर्क नम्बरमा फोन गर्दा रजिष्टर गरिएको छैन भन्ने जवाफ आउँछ । नगरपालिकाको वेबसाइटमा नगर प्रमुख, उपप्रमुख र केही उच्च कर्मचारीबाहेक जनप्रतिनिधि, वडाध्यक्ष तथा सदस्यको कुनै विवरण पाइएको छैन । 

जैमिनी नगरपालिकाको वेबसाइटमा घटना दर्ता, सामाजिक सुरक्षाको विवरण, विज्ञापन, कर, बडापत्र, जनप्रतिनिधिको विवरण अपडेट छ ।  बरेङ गाउँपालिकामा अधिकांश कुरा अपडेट भए पनि घटना दर्ताको विवरण छैन । ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाका वेबसाइटसमेत सामान्य अपडेट मात्रै छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *