राजनीति

प्रतिनिधिसभा विघटनपछि मुलुक अस्थिरतातर्फ: डा.डिला संग्रौला

पर्सा । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाइ कांग्रेसले प्रतिगामी कदमको रूपमा स्वीकारेको बताएकी छन् ।

वीरगञ्जमा सोमबार कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ’नेपाली कांग्रसले यही पौष ५ गते प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधिसभा जुन भंग भयो, यो विघटन असंवैधानिक छ, अलोकतान्त्रिक छ र प्रतिगामी कदम हो’, उनले भनिन्, ‘यही प्रतिगामी कदमका विरुद्धमा देशव्यापी नेपाली कांग्रेस आन्दोलनमा पनि छ ।’

उनले नेपालको राजनीतिमा जटिलता र संविधानमाथिको प्रहारले मुलुक अस्थिरतातर्फ गइरहेको भन्‍दै अब आन्दोलनको विकल्प नरहेको बताएइन्  ।

संसद् विघटनविरुद्धमा कांग्रेसको बैठकले गरेको निर्णय अनुसार पहिलो र दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र ७ सय ५३ स्थानीय तहमा आन्दोलन सकेर आउँदो माघ ८ गते हुने ६ हजार ७ सय ४३ वटा वडाको बिरोध प्रदर्शनको तयारीका रहेको उनले जानकारी दिइन् ।

नेपाली जनताले आफूहरुलाई ५ वर्षको प्रतिपक्षको जनादेश र नेकपालाई ५ वर्षको प्रचण्ड बहुमतको जनादेश दिएको बताउँदै उनले उक्त जनादेशलाई लत्याउदै संसद विघटन गरेको आरोप लगाइन् ।

‘जनताले हामीहरुलाई ५ बर्षको प्रतिपक्षको जनादेश र नेकपालाई ५ बर्ष सम्मको प्रचण्ड बहुमतको जनादेश दियो’,उनले भनिन्, ‘प्रचण्ड बहुमतको जनादेशलाई लत्याउदै घोषणा पत्रमा उल्लेख गरेका कुराहरुलाई पनि लत्याउँदै संसद्को विघटन भएको छ ।’

भ्रष्टाचारमा यो सरकारले कीर्तिमान कायम गरेको बताउँदै सरकारले नेपाली जनतालाई सुशासन दिन नसकेको डा.संग्रौलाले दाबी गरिन् । देशमा कहिं पनि शान्ति स्थायित्व नभई नेपाली जनताको बाँच्न पाउनेसम्मको अधिकार अहिले कुण्ठित भएको उनको जिकिर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *