अर्थ

हिमाल र सूर्योदय हेर्न बेलढुंगा, दिनहुँ पुग्छन् सयाैं पर्यटक

गलकोट । जिल्लामा पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल हो बेलढुंगा । पाँच वर्ष अघिसम्म गुमनाम रहेको बेलढुंगाको विशेषता त्यहाँका स्थानीयवासी पनि निकै कमलाई मात्रै अवगत थियो । देशमा पर्यटनको हुटहुटी चल्दा गाउँगाउँमा पनि नयाँ गन्तव्यको खोजी चल्यो । त्यही क्रममा थप पहिचान, प्रचार र प्रर्वद्धनसहित प्राकृतिक भ्यू टावरको रुपमा बेलढुंगाले चर्चा बटुल्न थालेको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली म्याग्दीको सिमानामा अवस्थित बेलढुंगामा दैनिक पर्यटक पाहुना पुग्छन् ।

मिडिया र सामाजिक सञ्जालमार्फत भएका प्रचारका कारण चर्चामा आएको बेलढुंगाबाट दर्जनौं हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । बेलको जस्तै आकृतिमा रहेको उक्त ढुंगालाई परम्पराकालदेखि बेलढुंगा भनिँदै आएको थियो ।

बेलढुंगा गुराँसको वनभित्र रहेकाले चैत वैशाखमा लालीगराँसले राताम्य हुँदा अझ मनमोहक हुने स्थानीयवासीको भनाइ छ । पर्यटकीय गन्तव्य बन्नुमा प्राकृतिक भ्यू टावर मात्र भएर होइन, बेलढुंगाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृृङ्खला, हराभरा वनजंगलको मनोरम दृश्य यसको प्रमुख आर्कषण हो ।

म्याग्दी जिल्लाको सिमानाले समेत छोएको बेलढुंगाबाट एकाबिहानै खुलेका दन्ते लहर हिमाल र सूर्योदयले आन्तरिक पर्यटकलाई निकै लोभ्याउने गरेको छ । समुद्री सतहदेखि दुई हजार ६०० मिटरको उचाइमा रहेको बेलढुंगा आफैंमा प्राकृतिक भ्यू टावर हो ।

यहाँबाट देखिने हिमशृङ्खला, बागलुङ म्याग्दीका दर्जनौं गाउँ, हराभरा रहेका वनजङ्गल डाँडाकाँडासहितको मनोरम दृश्य अनि सूर्योदय र सूर्यास्तले त्यहाँ पुग्नेलाई आहा भन्न बाध्य तुल्याउँछ ।

बेलढुंगा पुग्ने आन्तरिक पर्यटक बढेसँगै धम्जाको ओखलेमा बेलढुंगा होम–स्टे समेत दुई वर्षदेखि सञ्चालनमा छ । सामाजिक सञ्जालमा देखेकैभरमा बेलढुंगा भ्रमणमा पुगेका बागलुङ बजारका दीपक गौतमले बेलढुंगा आफूले सोचेभन्दा बढी रमणीय रहेको बताए । गत वर्षको वर्षात्ले केही भागमा क्षति पुर्याए पनि पूर्वाधार निर्माणमा केही ध्यान दिनसके अझै आर्कषक गन्तव्य बनाउन सकिने सम्भावना देखिएको उनको भनाइ छ ।

अघिल्लो दिन गौतमसहित बागलुङ बजारबाट धम्जा ओखलेस्थित बेलढुंगा सामुदायिक घरबास बास बस्न पुगेका एक दर्जन आन्तरिक पर्यटक झिसमिसेमै केही सयम यातायातको साधन र केही पदमार्गसँगै बेलढुंगा अवलोकनका लागि पुगेका थिए ।

बेलढुंगा केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाटबाट झण्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुंगा पुगिन्छ ।

पछिल्लो समय बढेलढुंगा घुम्न आउने पर्यटकको संख्या उल्लेख्य बढेको बेलढुंगा सामुदायिक घरबासका सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताए ।

‘यहाँ घुम्न आउनेले आँखै अगाडि देखिएका हिमाल र सूर्योदय अत्यधिक मन पराएको पाइयो’ उनले भने, ‘बन्दाबन्दीमा आन्तरिक पर्यटकको धेरै आगमन भयो, अहिले पनि दिन खाली छैन, आउने क्रम जारी छ ।’

प्रायःजसो पर्यटक अघिल्ल्लो दिन घरबासमा आएर स्वादिष्ट परिकार र नाचगान गर्ने र भोलिपल्ट बिहानै बेलढुंगा अवलोकनका लागि पुग्ने गरेको स्थानीयवासी लोक श्रीसले बताए ।

बेलढुंगाको फेद देउरालीमा वनभोजका लागि समेत बागलुङ र म्याग्दीका विभिन्न समूह पुग्ने गरेका छन् । बेलढुंगाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जन बढी हिमाल नजिकै देख्न सकिन्छ ।

बेलढुंगाभन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने संख्या पनि अधिक छ । बेलढुंगाको चर्चासँगै स्वर्गाश्रमलाई पनि थप व्यवस्थित गर्न पहल गरिएको छ ।

दुवै जिल्लाले स्वर्गाश्रम र बेलढुंगा जोडेर पदमार्ग, सडकलगायतका पर्यटकीय पूर्वाधार निर्माण गरेका छन् । बेलढुंगाबाट देखिने हिमाल र सूर्योदयले आफूलाई आकर्षित गरेको बागलुङ बजारबाट बेलढुंगा पुगेका आन्तरिक पर्यटक करिश्मा क्षेत्रीले बताइन् ।

गत असारमा अविरल वर्षासँगै क्षति पुगेको बेलढुंगामा नयाँ संरचना निर्माण गर्ने तयारी छ । बेलढुंगाबाट देखिने सौन्दर्य त छदैछ । त्यसमा प्राकृतिक सुन्दरता नमेटिने गरी मौलिक खालको चौतारीलगायतका पूर्वाधार निर्माण गरिने स्थानीय अगुवा गोपाल श्रीसले बताए ।

गण्डकी प्रदेश सरकारले बेलढुंहुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागि समेत चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ । बेलढुंगामा भत्किएको स्थानमा पर्यटनमैत्री पूर्वाधार निर्माणका लागि केन्द्र सरकार, गण्डकी प्रदेश र काठेखोला गाउँपालिका र नागरिकस्तरमा समेत अभियान थाल्ने तयारीमा रहेको स्थानीयवासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *