पालिका खबर

भारतबाट अम्बा र ड्रागन फ्रुटका बिरुवा ल्याएर व्यावसायिक खेती, गाउँलाई नै यसै खेतीमा जोड्ने लक्ष्य

झिमरुक । सरुमारानी गाउँपालिका वडा नं २ दर्भानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । तीन व्यक्तिको साझेदारीमा हाम्रो बहुद्देश्यीय कृषि फार्ममार्फत विसं २०७६ असार र साउनदेखि अम्बा र ड्रागनको खेती गरिएको छ ।

दर्भानका स्थानीय केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले साझेदारीमा व्यावसायिकरुपमा खेती गर्दै आएका छन् ।

दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बा र एक हजार २०० ड्रागनका बोट लगाएको सञ्चालक गुरुङले जानकारी दिए ।

भारतको तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिंक् र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको विरुवा लगाइएको छ । ‘नेपालका विभिन्न क्षेत्रमा भारत तथा चाइनाबाट अम्बा खरीद गरिएको पाइन्छ’, उनले भने, ‘जिल्लासँंगै छिमेकी जिल्लामा खपत हुने विश्वासले खेती गरेका हौँ ।’

एक वर्षको अवधिमा दुई चरणमा अम्बा फलेको र बेचेको सञ्चालक गुरुङले बताए । ‘दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बेचिसक्यौँ’, उनले भने, ‘अब तेस्रो चरणको अम्बा फल्दैछ ।’

प्रतिकेजी रु १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उनको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे पनि अम्बा खेती राम्रो हुने उनले बताए ।

त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं ०७७ साउनदेखि कात्तिक महिनाको अवधिमा एक क्विन्टल ड्रागन फ्रुटको बिक्री भएको जनाइएको छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फु्रटको खेती गरिएको हो । पहिलो वर्ष केही कम मात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने उनले बताए ।

फार्ममा रातो र सेतो गरी दुईथरीको ड्रागन फ्रुट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी रु ८०० र सेतोलाई प्रतिकेजी रु ७०० मा बिक्री गरेको उनले बताए ।

उत्पादित फ्रुट जिल्लासँगै बुटवल, काठमाडौंमा माग आएअनुसार खपत भएको हो । नेपालमै यो खेती कम मात्रा गरिएकाले बिक्रीवितरण सहजरुपमा हुने विश्वास लिएको उनले बताए ।

तीन जनाको करीब रु २५ लाख लगानीमा खेती गरिएको हो । वार्षिक रु एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कट्ठा जमीन भाडामा लिइ उक्त खेती गरिएको हो ।

ड्रागन फ्रुट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर, ४०० बिरुवा स्टाबेरीको पनि खेती गरिएको छ । सानैदेखि किसान खेती गर्दै आएका उनले कम्युनिस्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशा अगालेको जानकारी दिए ।

भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारत खासै कृषि क्रान्ति भएन । उनले भने, ‘व्यवहारत कृषि क्रान्तिका लागि हामीले यी खेती गरेका हौँ ।’

अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उनको भनाइ छ ।

व्यवसाय सञ्चालनका लागि एक जना व्यवस्थापक पनि राखिएको छ भने धेरै काम गर्ने समयमा अन्य कामदार पनि खटाउने गरिएकोसमेत उनले बताए । हावापानी राम्रो रहेकाले जिल्लामा यसको उत्पादन राम्रो हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *