स्वास्थ्य

कोभिडविरुद्धको खोपको प्रधानमन्त्रीबाट शुभारम्भ

काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी भए ।

आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइदै छ ।

यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिएको छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिए ।

नेपालमा कोभिड–१९ को संक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाए । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो ।

काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *