राजनीति

बामदेवले घोषणा गरे नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका लागि राष्ट्रिय अभियान घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई निम्तो दिइएको थियो । 

गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् । दुवै पक्षले एक–अर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिने गर्दै आएका छन् ।

उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिएका छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । गौतमले मंगलबार मात्रै आफूलाई जुन समूहले अध्यक्ष दिन्‍छ त्यही समूहमा लाग्‍ने बताएका थिए ।

उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘त्यति बेला पनि मैले एमाले र माओवादी केन्द्रलाई एक बनाई नेकपा बनाएको थिएँ,’ उनले भने । ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।’ गौतमले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने बताए ।

पार्टी एकताको अभियानसँगै नेता गौतमले लेखेको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औँ शताब्दीको कम्युनिष्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *