खेलकुद

महिला लिग फुटबलः कुशुम खतिवडाको ह्याट्रिकमा विराटनगरको शानदार जीत

काठमाडौं । कुशुम खतिवडाको ह्याट्रिकको मद्दतमा विराटनर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा सुखद नतिजा निकालेको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बुधबार सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५-० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । 

कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक/एक गोल गरे । कुशुमको ह्याट्रिक सँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले एक/एक ह्याट्रिक गरेका छन् ।

पहिलो हाफमा दुई गोल गरेको विराटनगरले दोस्रो हाफमा तीन गोल गरेको थियो । यस अघि सम्पन्न दुई खेलबाट विराटनगरले एक खेलमा बराबरी र एक खेल गुमाउन पुगेको थियो । 

पहिलो खेलमा विराटनगर वालिङसँग १-१ गोलको बराबरी र एपीएफसँग ७-० ले पराजित भएको थियो । तेस्रो खेलमा सुखद नतिजा निकालेको विराटनगरको अंक तालिकामा ४ अंक भएको छ ।

उदयपुरको चौदण्डीगढीलाई अघिल्लो खेलमा ७-१ गोल अन्तरले पराजित गरेको चन्द्रपुरले एपिएफसँग ६-० ले पराजित भएको थियो । बुधबारको पराजयसँगै चन्द्रपुरको ३ खेलबाट ३ अंक नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *