काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन् । नविल बैंकले काठमाडौंको कुलेश्वरस्थित थोक फलफूल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताए ।
पैसाको माध्यमबाट कोभिड संक्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको उनको भनाइ छ । गभर्नर अधिकारीले आफू पैसामा हस्ताक्षर गर्ने व्यक्ति भएपनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको बताए ।
नगदको प्रयोग कम हुँदा, देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने बताउँदै उनले नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने बताए ।
कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैंका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताए । प्रत्येक फलफूल पसलमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उनको भनाइ छ ।
सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबार सम्बन्धी शिक्षा दिन सकिने पनि सिइओ शाहले बताए ।
साइकलमा फलफूल विक्री गर्दै हिंड्ने महमद सुल्तान मियाँले क्यूआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताए । साइकलमा फलफूल राखेर गोजिभरी खुद्रा पैसा बोकेर हिंड्नु नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि नहुने उनको भनाइ छ ।
क्यूआर कोडबाट भएको भुक्तानीको मोबाइलमा म्यासेज आउने भएकाले ग्राहकले कोड स्क्यान गरेपछि खातामा पैसा आए नआएको तत्काल थाहा हुने भएकाले ढुक्क भएर कारोबार गर्न सकिने मियाँले बताए ।