खेलकुद

कति छ नेपाली क्रिकेट खेलाडीको तलब ?

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ।

भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो। पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन।

ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन्।

यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। उनका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन्।

यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन्।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले जानकारी दिए।

यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ। ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन्। अध्यक्ष चन्दले भने, ‘पहिलोपटक हामीले महिला खेलाडीको पनि सम्झौता गरेका छौँ, यो सुखद शुरुआत हो।’

यसअघि पुरुष खेलाडीले सन् २०१९ मा रु ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए। क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन्।

क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो। ‘परिस्थितिले अनुमति दिए भौतिकरूपमै उपस्थित भएर साधारणसभा गर्छौँ, नभए भर्चुअलबाट गर्ने निर्णय भएको छ’, अध्यक्ष चन्दले भने।

यस्तै क्यानले आव २०७१/०७२ देखि ०७५/०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ। क्यान निलम्बनमा परेको बेला सो समयको लेखापरीक्षण भएको थिए। निर्वाचित क्यान आएर आइसीसीले फुकुवा गरेपछि बोर्ड बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो।

त्यस्तै कोरोना कहरका बीच बन्द प्रशिक्षणका लागि क्यानले सरकारसँग अनुमति माग्ने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्दै बन्द प्रशिक्षणको वातावरण तयार पार्नका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष चन्दले बताए।

आइसीसीको प्रावधानअनुसार मङ्सिर महिनाभित्रै राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न सरकारसँग अनुमति माग्ने निर्णयसमेत गरिएको छ। मङ्सिरभित्र पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि समन्वय गर्ने निर्णय क्यानले गरेको हो।

नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ।

सन् २०१७ र २०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो। क्यानले उहाँलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *