पालिका खबर

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारबाहीमा

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारबाही गरिएको छ ।

तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौं महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले जानकारी दिए ।

गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमामात्र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो । जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ ।

४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा अभिनेत्री नीता ढुंगाना पनि सहभागी भएकी थिइन् । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *