राजनीति

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ :पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन् ।

कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्छ भने ।

‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन’, उनले भने, ‘प्रतिनिधिसभाको पुनःस्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।’

जनताले प्रतिनिधिसभालाई पाँच वर्षका लागि चुनेकाले प्रतिनिधिसभाको म्याद पाँच वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गरे ।

‘प्रतिनिधिसभा पुनःस्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ’, उनले भने, ‘कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *