पालिका खबर

लघुजल विद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले रकम पाएनन्

बागलुङ । पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युत्गृहमा ठूलो क्षति पु¥याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । 

काम सकिएर विद्युत् सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताए ।  विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गरे । 

‘बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम ग¥यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ’, विकले भने, ‘काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।’

मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्छन् ।  दिनको रु एक हजारका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा रु नौ हजारमात्रै पाएको उनको भनाइ छ । 

काम गरेको पारिश्रमिक नपाएपछि विद्युत्गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत्गृहमै तालाबन्दीसमेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौँ भन्ने प्रतिबद्धतापछि एक दिनमै ताला खोलेको उनीहरुको भनाइ छ ।

बाढी पसेर विद्युत्गृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरुले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ ।

विद्युत्गृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उनको भनाइ छ । भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पु¥याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताउँछन् । 

अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उनी बताउँछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *