पालिका खबर मनोरञ्जन

गायक मिलन लामाले विपन्न परिवारलाई पक्की घर बनाए

चितवन । लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।

लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेका हुन्। घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमान्को मृत्यु भएपछि मधु र उनका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएका थिए ।

उनीहरुको दयनीय अवस्था देखेपछि गायक लामाले छ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिएका हुन् । उनले सो घर सो कुमाल परिवारलाई बिहीबार हस्तान्तरण गरेका छन् । 

विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताए । घरसँगै धारासमेत बनाइएको छ ।

स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गरेका थिए ।

‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गरेका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको सापकोटाले जानकारी दिए ।

लामा रत्ननगरका स्थायी बासिन्दा छन् । विपन्नका लागि आर्थिक जोहो गर्न लामा स्वदेशसँगै विदेशमा समेत गीत गाउन जाने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *